बसबरिया । सर्लाहीको बसबरिया गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाले एक अत्यन्त जरुरी सूचना जारी गर्दै तोकिएको समयभित्र जग्गा खाली नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने र जग्गा खाली गर्दा लाग्ने सम्पूर्ण खर्चसमेत असुल गर्ने चेतावनी दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर थापाले मंगलबार आज जारी गरेको सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र, स्थानीय सरकार सञ्चालन ऐन तथा नेपाल सरकार मन्त्रिपरिषद्को १०० बुँदे कार्ययोजनामा उल्लेख भएबमोजिम यस्तो निर्णय गरिएको उल्लेख छ ।
सूचनामा गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक र सरकारी जग्गामा विभिन्न व्यक्ति वा संघसंस्थाहरूले अनाधिकृत रूपमा घर टहरा तथा अन्य संरचना निर्माण गरी कब्जा गरेको भन्दै तत्काल हटाउन निर्देशन दिइएको छ ।
अतिक्रमणकारीहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफैंले उक्त संरचनाहरू हटाई जग्गा खाली गर्न भनिएको छ ।
तोकिएको समयभित्र अतिक्रमण नहटाएमा गाउँपालिकाले आफैं हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने जनाइएको छ । साथै, प्रचलित कानुनबमोजिम थप कारबाहीसमेत गरिने सूचनामा स्पष्ट पारिएको छ ।
गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण, अतिक्रमण नियन्त्रण, डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली लागू गर्ने र नयाँ अतिक्रमणलाई कडाईका साथ रोक्ने नीति लिएको जनाएको छ ।