सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको गोडैता नगरपालिका–६ स्थित बग्दह चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा आइतबार साँझ करिब साढे ४ बजे अन्दाजी ४०–४५ वर्षका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबाट सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट गएको टोली त्यसतर्फ गएको थियो ।
प्रारम्भिक अनुसन्धानमा मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको नेतृत्वमा टोलीसमेत घटनास्थलतर्फ खटिएको छ । उक्त स्थान प्रहरी चौकी गोडैताबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ । शवको पहिचान खुलाउने तथा घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।