सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राइटरखोरमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

गएराति (शुक्रबार) करिब ८:१५ बजे मियाँखोरबाट सुकनाहा जाँदै गरेको बिआर. ३० ई ६९०२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकलयात्री ईश्वरपुर-२राइटरखोरका ६५ वर्षीय किसुन देव साह गम्भीर घाइते भएका थिए ।

टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेका साहलाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएका साहलाई चिकित्सकले राति ११:५८ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ईश्वरपुर-१५ का १४ वर्षीय बिक्की कुमार राउतसमेत घाइते भएका छन् । उनको घुँडामा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भक्तिपुरबाट प्रहरी नायब निरीक्षक परिक्षण प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालक ईश्वरपुर-१५ का २३ वर्षीय मनिष साहलाई नियन्त्रणमा लिएको छ ।

चालक र दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै