काठमाडौँ । संसद्मा बिहीबार सर्लाही क्षेत्र नम्बर १ की सांसद नितिमा कार्कीले आफ्नो निर्वाचन क्षेत्रका जनजीवनसँग प्रत्यक्ष जोडिएका गम्भीर समस्याहरूमाथि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले विशेषगरी सर्पदंश उपचार केन्द्रमा दक्ष जनशक्तिको अभाव, दुर्गम बस्तीमा सडक तथा सञ्चारको पहुँच, स्वास्थ्य सेवाको कमी र नीलगाईले बालीनाली नष्ट गर्ने समस्या समाधानका लागि सरकारसँग जोडदार माग गरेकी छन्।
सांसद कार्कीले गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेको भन्दै सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा समुदायस्तरबाट सञ्चालित सर्पदंश उपचार केन्द्रको महत्त्वपूर्ण भूमिकाको चर्चा गरिन्।
उक्त केन्द्रले सर्लाहीसहित रौतहट, महोत्तरीलगायत आसपासका जिल्लाका हजारौँ नागरिकलाई सेवा दिँदै आएको बताएकी छिन्। तर, दुःखका साथ भन्नुपर्छ, गम्भीर अवस्थाका बिरामीको उपचारका लागि आवश्यक आईसीयू र भेन्टिलेटरजस्ता पूर्वाधार भए पनि दक्ष जनशक्तिको अभावले बिरामीको ज्यान जोखिममा पर्ने गरेको उनले औंल्याइन्।
विशेषगरी साना बालबालिकालाई सर्पले टोक्दा कुन सर्पले टोकेको हो भन्न नसक्ने अवस्थामा उनीहरूलाई आईसीयूमै राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै, हालै २ वर्षीया बालिका आशाकुमारी महतो विषालु कोब्राको टोकाइबाट गम्भीर अवस्थामा पुगेको घटनालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरिन्।
स्थानीय तथा प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान हुन नसक्नु दुःखद रहेको भन्दै सांसद कार्कीले सभामुखमार्फत सरकारसँग तत्काल सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक, आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति, भेन्टिलेटर सेवा र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन माग गरिन्।
सांसद कार्कीले सर्लाहीको लालबन्दी नगरपालिका–१४ मा सर्पदंशकै कारण एक युवाले ज्यान गुमाउनुपरेको अर्को दुःखद घटना सदनमा प्रस्तुत गरिन्। उनले उक्त मृत्युको कारण सर्पदंश मात्र नभई दुर्गम भौगोलिक अवस्था, सडक पहुँचको अभाव र सञ्चारविहीनता पनि रहेको बताइन्। लालबन्दी नगरपालिकाबाट त्यहाँ पुग्न करिब दुई घण्टाभन्दा बढी समय लाग्ने र वर्षायाममा त तीन(तीन महिनासम्म नागरिक सम्पर्कविहीन हुने अवस्था रहेको उनले जानकारी गराइन्।
सडक नभएकाले एम्बुलेन्स नपुग्ने, मोबाइल नेटवर्क नहुँदा आकस्मिक अवस्थामा हेलिकोप्टर बोलाउने सम्भावना पनि नहुने अवस्थाको चित्रण गर्दै, सुगम मानिने मधेश प्रदेशभित्रै यस्ता विकट बस्तीहरू अझै पनि राज्यको पहुँचभन्दा बाहिर हुनु विडम्बनापूर्ण रहेको उनको भनाइ थियो। मधेशको विकास केवल दक्षिण क्षेत्रमा सीमित हुँदा उत्तरी भेगका जनजाति तथा दुर्गम बस्तीका नागरिक राज्यबाट पछाडि पारिएकोमा उनले चिन्ता व्यक्त गरिन्।
सांसद कार्कीले सर्लाही क्षेत्र नम्बर १ मा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीय नागरिकले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेकोमा पनि सरकारको ध्यानाकर्षण गराइन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्र भएकाले यहाँ दैनिकजसो सडक दुर्घटना हुने गरेको र दुर्घटनामा परेका तथा गम्भीर बिरामीलाई अन्य जिल्लामा रेफर गर्नुपर्ने बाध्यता रहेको उनले औंल्याइन्। यस्तो अवस्थामा समयमै उपचार गरी ज्यान बचाउन ट्रमा सेन्टर अत्यावश्यक भइसकेको उनको जोड थियो।
उनले हाल लालबन्दीमा डब्लूएचओको मापदण्डअनुसार भवन निर्माण भइसकेको अवस्थामा त्यस भवनलाई तत्काल ट्रमा सेन्टरका रूपमा विकास गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरिन्।
अन्तमा, सांसद कार्कीले यस क्षेत्रका किसानहरूले दुःख गरेर लगाएको बाली नीलगाईले नष्ट गरिदिँदा कृषकहरू निराश र पीडित बनेको समस्या पनि उठाइन्। यस समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकार गम्भीर बन्न आवश्यक रहेको उनले बताइन्। सांसद कार्कीले सरकारसँग ती समस्याहरूको तत्काल समाधानका लागि ठोस कदम चाल्न जोडदार माग गरेकी छन्।