सांसद लुङ्गेलीको आरोप– मन्त्रालयका योजनाको चिठ्ठी खुलेआम बिक्री भइरहेको छ

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रालयअन्तर्गतका योजनाको चिठ्ठी खुलेआम बिक्री भइरहेको भन्दै प्रदेश सभा सदस्य बेची लुङ्गेलीले सरकारको कार्यशैलीप्रति व्यंग्यात्मक टिप्पणी गरेकी छन् ।

मधेश प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत शुक्रबार बसेको बैठकमा नेकपाकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लुङ्गेलीले योजनामा बिचौलियाको चलखेल बढेको आरोप लगाइन् ।

उनले योजनाको चिठ्ठी खुलेयाम बिक्री भइरहेको अवस्था रहेको उल्लेख गर्दै सरकारले त्यसलाई नियन्त्रण गर्न नसके आधिकारिक रूपमा ‘योजना बिक्री वितरण कार्यालय’ नै खोल्नुपर्ने अवस्था आउने टिप्पणी गरिन् ।

मन्त्रालयका योजनाको चिठ्ठी खुलेआम बिक्री भइरहेको छ । यदि यस्तै अवस्था रहने हो भने सरकारले आधिकारिक रूपमै कार्यालय खोलेर डाक बढाबढमार्फत योजना बिक्री गरे हुन्छ, उनले भनिन् ।

लुङ्गेलीले यस्ता गतिविधिले सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको बताउँदै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने माग गरिन् । साथै योजनामा हुने बिचौलिया गतिविधि रोक्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

लुङ्गेली सर्लाही क्षेत्र नम्बर १ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

सबै