रौतहट । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एक एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया महिलालाई केही व्यक्तिहरूले ‘आफ्ना आफन्तलाई बिरामी बनाएको’ भन्दै बोक्सीको आरोप लगाएका थिए।
आरोपितहरूले पीडित महिलालाई गालीगलौज गर्नुका साथै लछारपछार र कुटपिटसमेत गरेका थिए। अझ हृदयविदारक त के भने, सोही क्रममा ती महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको प्रहरीले जनाएको छ।
उक्त जघन्य अपराधमा संलग्न भई फरार रहेका स्थानीय राजेन्द्र माझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद बस्यालले जानकारी दिए।
समाजमा अझै पनि बोक्सीजस्तो कुप्रथाका नाममा महिलामाथि यस्तो अमानवीय र क्रूर व्यवहार हुनु निन्दनीय रहेको स्थानीयले बताएका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।