बागमती नदीमा डुबेर लालबन्दीका दुई युवकको मृत्यु

लालबन्दी । सर्लाही र सिन्धुलीको सिमानामा पर्ने बागमती नदीमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।

गत बिहीबार अपराह्न ४ बजे घुम्न निस्किएका पाँच जनाको समूहमध्ये नदी तर्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरका १८ वर्षीय रोहित महतो र सोही स्थानका २० वर्षीय गणेश महतो थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय, कर्मैयाबाट प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा ५ जना गरी १२ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको थियो ।

खोजतलासका क्रममा आज बिहान सवा १० बजे रोहित महतोको शव बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ नदीमा फेला परेको थियो । त्यसको केही समयपछि दिउँसो डेढ बजे गणेश महतोको शव पनि घटनास्थलदेखि करिब १ किलोमिटर उत्तरतर्फ बाँध नजिकैको पानीमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य तीन जना साथीहरू भने सकुशल छन् । प्रहरीका अनुसार सकुशल रहनेहरूमा बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, सोही स्थानका २४ वर्षीय मोहम्द अखतर र ब्रहम्पपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी रहेका छन् ।

प्रहरीले दुवै शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमलंगवा पठाएको छ । मृतकका शवहरू आज दिउँसो पौने २ बजे अस्पतालमा बुझाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै