सर्लाहीको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१, सितलपुरस्थित नेपाल–भारत सीमा क्षेत्र (दशगजा) मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलबार दिउँसो करिब ३ः१० बजेको समयमा इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले बाटोको छेउमा अन्दाजी ४५ देखि ५० वर्षका पुरुषको शव फेला पारेको हो। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षित राखेको थियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईको कमान्डमा थप अनुसन्धान टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार मृतकको हातमा रहेको बालामा ‘जगन राउत’ लेखिएको फेला परेको छ। साथै, उनको खल्तीबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५ः५० बजे शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै