लालबन्दी । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार यो फैसला सुनाएको हो। अदालतले सिंहबाट ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गर्न पनि आदेश दिएको छ।
साथै, घुसबापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिइएको छ।
भ्रष्टाचारको पुष्टि र बिगो
महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य
सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत उक्त रकम लिएको पुष्टि भएको अदालतले जनाएको छ। प्रतिवादीले उक्त रकम लिएको सम्बन्धमा विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको हो।
अभियोगअनुसार, उपभोक्ता समितिका खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेका थिए।
यस प्रकरणमा विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको छ।