काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा गत फागुन ६ गते भएको २५ वर्षीय सन्तोष गिरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले द्रव्यनाथ भन्ने सुबिन रानामगरलाई पक्राउ गरेको छ।
रानामगरलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरी अनुसन्धानका अनुसार, सङ्खुवासभा घर भएका सन्तोष गिरी (सन्तोष परियार) काठमाडौँ महानगरपालिका–८, पशुपति मन्दिर परिसरको १५ नम्बर शिवालयमा मृत अवस्थामा भेटिएका थिए। उनको हत्या चिम्टा र बाँसको चिर्पट प्रहारबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ।
प्रारम्भिक अनुसन्धानमा महाशिवरात्रिको मेलाका क्रममा पशुपति पुगेका भारतीय साधु निरजनाथसहितको समूहसँग वादविवाद हुँदा समूहले गिरीलाई चिम्टा लगायतका वस्तुले प्रहार गरी हत्या गरेको खुलेको छ।
यसअघि, प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा भारतको उत्तर प्रदेश, मथुरा घर भएका ४८ वर्षीय नीरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई पक्राउ गरी अनुसन्धान गरिसकेको छ।
प्रहरी अधिकारीहरूका अनुसार फागुन ५ गते गिरीको हत्या गरेपछि मुख्य आरोपी द्रव्यनाथ बल्खु हुँदै भारततर्फ भागेका थिए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।