कबिलासी । कबिलासी नगरपालिका–६ जमुनियामा सञ्चालन भइरहेको सडक ढलान योजनामा प्राविधिक मापदण्ड पालना नभएको आरोपसँगै स्थानीयस्तरमा विवाद चर्किएको छ ।
करिब १० लाख रुपैयाँ बजेटको उक्त योजनामा आवश्यक पूर्वतयारीबिना माटोमाथि नै ढलान गरिएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।
स्थानीय नेता रामगोविन्द यादवका अनुसार योजनाअन्तर्गत सडक ढलान गर्नुअघि आवश्यक सब–बेस तथा बेस निर्माण नगरी सिधै माटोमाथि कंक्रिट ढलान गरिएको छ । उनका अनुसार वडाबाट स्वीकृत योजना पोखरीदेखि रामजी ठाकुरको घरसम्म सडक ढलान भए पनि कार्यान्वयनका क्रममा योजना परिवर्तन गरी पोखरीदेखि पलधारी रायको घरसम्म सडक ढलान भइरहेको छ ।
योजनाको चौडाइबारे पनि विवाद देखिएको छ । स्थानीयका अनुसार सुरुमा १३ फिट चौडाइमा ढलान हुनुपर्ने भनिए पनि त्यसलाई घटाएर १० फिटमा सीमित गर्न खोजिएपछि स्थानीयवासीले विरोध जनाएका थिए । विरोधपछि हाल करिब ११ फिट चौडाइमा सडक ढलान भइरहेको दाबी गरिएको छ ।
स्थानीयहरूले आवश्यक संरचनागत तयारीबिना गरिएको ढलानले सडकको दीर्घकालीन गुणस्तरमा असर पुग्ने, चाँडै क्षति हुने तथा सार्वजनिक लगानी जोखिममा पर्ने चिन्ता व्यक्त गरेका छन् । निर्माण कार्य सम्बन्धित जनप्रतिनिधि तथा प्राविधिकको निगरानीमै भइरहेको भए पनि मापदण्ड पालना नभएको आरोप उनीहरूको छ ।
यता कबिलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले भने योजना स्वीकृत स्टिमेटअनुसार नै सञ्चालन भइरहेको बताएका छन् । उनले सडकमा ढुङ्गा बिछ्याएर त्यसमाथि ढलान गर्ने व्यवस्था स्टिमेटमै रहेको दाबी गरे ।
वडा नम्बर ६ का अध्यक्ष पुरुषोत्तम रायले पनि योजना मापदण्डअनुसार नै अघि बढिरहेको बताए । उनका अनुसार १० लाख रुपैयाँको बजेटमा ११ फिट चौडाइ, ६ इन्च मोटाइ तथा सोलिङ ग्राभेलमाथि ढलान गरिएको हो । योजना नाम परिवर्तनको विषयमा भने उनले प्रारम्भिक चरणमै नामाङ्कनमा त्रुटि भएको र त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको स्वीकार गरे ।
यसैबीच, नगरपालिकाका ओभरसियर अभिनन्दन रायले सोलिङ ग्राभेलमाथि सडक ढलान गर्ने अभ्यास सामान्य रहेको दाबी गरेका छन् । उनका अनुसार निर्माण कार्य कोटेशन प्रक्रियामार्फत सञ्चालन भइरहेको छ ।
स्थानीयवासीहरूले योजनाको तत्काल स्थलगत निरीक्षण गरी प्राविधिक मापदण्ड पालना भए नभएको निष्पक्ष मूल्यांकन गर्न माग गरेका छन् । मापदण्डविपरीत निर्माण भएको पुष्टि भए निर्माण कार्य रोक्का गरी जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।