रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।

बिहीबार दिउँसो समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिँदै गर्दा दिउँसो करिब १ः४५ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै