सशस्त्र प्रहरीद्वारा सर्लाहीमा अवैध फर्सीको बीउ बरामद, झडपमा ग्यास सेल फायर

सर्लाही : सर्लाहीको मलंगवामा रहेको दिनकर सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले ७५ बोरा अवैध फर्सीको बीउ बरामद गरेको छ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारी उक्त बीउ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाहीको टोलीले जेठ ३ गते राति नै नविन कुमार यादवको दिनकर सेल्स सप्लायर्समा छापा हानेको थियो।

बीउ बरामद गर्ने क्रममा केही स्थानीयवासी भेला भई ढुंगामुढा गर्दा सामान्य झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड ग्यास सेल फायर गर्नुपरेको थियो। ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति पुगेको छ।

बरामद गरिएको फर्सीको बीउ थप अनुसन्धान तथा कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै