जितपुरसिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा रहेको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रुलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार, जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदलयात्रुलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको हो। मृतक मध्ये दुई जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार, ज्यान गुमाउनेहरूमा जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया घर भई हाल काठमाडौंमा बस्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। अर्का मृतक पैदलयात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै घाइते भएका सबैलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।हाल
शवहरू बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।