सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै

सर्लाहीकी ईशा देवकोटा अमेरिका गएको चार वर्ष पुग्न लागेको छ।

उनी सन् २०२२ अगस्टमा पाइलट कोर्स पढ्न टेक्सस पुगेकी हुन्। ईशाले डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमीबाट पाइलट पढाइ पूरा गरेकी छन्।

पढाइपछि उनी टेक्ससकै हफम्यान एभिएसनमा फ्लाइट इन्स्ट्रक्टर (उडान प्रशिक्षक) का रूपमा काम गरिरहेकी छन्।

अमेरिकाको नियम अनुसार एयरलाइन्समै काम गर्न कम्तीमा ७०० घन्टा फ्लाइट इन्स्ट्रक्टरको अनुभव आवश्यक पर्ने उनले बताइन्। हालसम्म उनले ३२५ घन्टा पूरा गरिसकेकी छन्।

उनको लक्ष्य सन् २०२७ सम्म ७०० घन्टा पूरा गर्ने हो। २२ वर्षीया अहिले उनी त्यसकै लागि लागिरहेकी छु।

‘कतिपय एयरलाइन्सले ७०० घन्टाभन्दा धेरै अनुभवको प्रावधान राखे पनि अधिकांशले ७०० घन्टालाई मान्यता दिन्छन्,’ उनले भनिन्, ‘पहिले त आफै क्वालिफाइड हुनुपर्छ नि। मैले उडान अनुमति लाइसेन्स लिइसकेकी छु। अब तोकिएको समय मात्र पूरा गर्न बाँकी छ।’

हाल उनले टेक्सस राज्यभित्र परीक्षण (ट्रायल) उडान गर्न पाउँछिन्। उनको उडानमा यात्रु बस्न नपाइने होइन, तर खर्चिलो हुने भएकाले सामान्यतया यात्रु राखिँदैन। परिवार, आफन्त तथा दृश्यावलोकनका लागि यात्रु राख्न सकिने उनले बताइन्।

पाइलटका लागि नेपालभन्दा अमेरिकामा धेरै सम्भावना भएकाले आफूलाई त्यहीँ करिअर अगाडि बढाउन मन भएको ईशा बताउँछिन्।

‘यहाँको पढाइ र काम दुवैको विश्वभरि महत्व छ। त्यसैले मलाई यतै काम गर्न मन छ,’ उनले भनिन्, ‘मैले राम्रोसँग पढाइ पूरा गरेकी छु। अवसर पाउँछु भन्ने आशा पनि छ।’

सर्लाहीबाट एसइई पास गरेपछि काठमाडौंमा ए–लेभल पढ्दै गर्दा उनको इच्छा डाक्टर बन्ने थियो। छात्रवृत्तिमा अमेरिका गएर चिकित्साशास्त्र पढ्ने योजना पनि बनाएकी थिइन्।

तर कोभिड–१९ का कारण त्यो सम्भव भएन। अनि उनले पाइलट रोजिन्।

दक्षिण अफ्रिका लगायतका देशमा पाइलट पढ्दा घरको खर्चमै भर पर्नुपर्ने देखिन्। अमेरिकामा भने पढाइसँगै काम गरेर खर्च व्यवस्थापन गर्न सकिन्थ्यो।

त्यसैले उनले अमेरिका रोजेकी हुन्।

‘खान–लाउन राम्रैसँग पुग्ने तर अमेरिका पठाएर पढाउन सक्ने मेरो परिवारको अवस्था थिएन,’ उनले भनिन्, ‘त्यसैले मैले पाइलट पढ्न केही पैसा घरबाट मगाएँ र केही काम गरेर जोहो गरेँ। त्यो बेला काम गर्न अलि सहज थियो।’

उनका अनुसार सुरूमा ६० हजार अमेरिकी डलर खर्च हुने भनिएको थियो। तर पढ्दै जाँदा कुल खर्च ८२ हजार डलर पुग्यो।

‘अहिले त पाइलट पढ्न करिब ८५ हजार डलर लाग्छ। काम गर्न पनि पहिलेजस्तो सहज छैन,’ ईशाले भनिन्।

नतोकिएको शुल्क समयमै बुझाउन नसके वा नियमित कक्षा उपस्थित हुन नसके भिसा रद्द हुन सक्छ।

सामान्यतया दुई वर्षमा पाइलट कोर्स सकिने भए पनि शुल्क व्यवस्थापनकै कारण धेरै विद्यार्थीलाई बढी समय लाग्ने गरेको छ। उनलाई पनि पढाइ पूरा गर्न करिब साढे दुई वर्ष लागेको थियो।

उनका अनुसार अमेरिकामा पाइलट पढ्न जुनसुकै विषयमा प्लस–टू गरेकाले पाउँछन्। तर नेपाल सरकारले विज्ञान नपढेकालाई पाइलट पढ्न अमेरिका जान अनुमति दिँदैन।

‘नेपालले विज्ञान पढेकाहरूलाई मात्र पाइलट पढ्न जान दिन्छ,’ उनले भनिन्, ‘पर्याप्त आर्थिक स्रोत पनि देखाउनुपर्छ।’

थ्योरीसँगै प्राक्टिकल पढाइ हुने भएकाले पाइलट कोर्समा सिकाइ प्रभावकारी हुने उनी बताउँछिन्। यसले गर्दा पछि काम गर्न पनि सहज हुने उनले बताइन्।

ईशाले पढाइ सुरू गरेको पहिलो महिना अर्थात् अगस्ट २०२२ मै जहाज उडाउन पाएकी थिइन्।

‘मेरो पहिलो फ्लाइट नेपालबाट अमेरिका आउने थियो। अनि दोस्रो फ्लाइटमा म आफै ककपिटमा थिएँ। त्यो बेला इन्स्ट्रक्टर दायाँतिर र म बायाँ बस्थेँ। अहिले भने म दायाँ बसेर जहाज उडाउन सिकाउँछु,’ उनले भनिन्।

कुनै बेला डाक्टर बन्ने सपना देखेकी ईशा अहिले आफ्नो सम्पूर्ण शक्ति कुशल पाइलट बन्नमा लगाइरहेकी छन्। अब यही क्षेत्रमा भविष्य बनाउनुपर्छ भन्ने उनलाई लागेको छ। -सेतोपाटीबाट

सम्बन्धित समाचार

सबै