लालबन्दी । भक्तपुरको नगरकोटमा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। गएराति करिब १० बजे भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा भएको घटनामा महोत्तरीका २८ वर्षीय आकाश रसाइलीको ज्यान गएको हो।
जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका रसाइलीमाथि चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका रसाइलीलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल सिनामंगल पठाइएको थियो। उनको उपचारकै क्रममा आज बिहान ०६ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।