रौतहट : आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार, यादवले गत २०८२ साल फागुन ३ गते आफ्नी श्रीमती ३२ वर्षीया आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेका थिए। घटनापश्चात यादव फरार रहेका थिए र उनको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयहरूबाट निरन्तर भइरहेको थियो।
प्राविधिक विश्लेषण र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको संयुक्त प्रहरी टोलीले यादवलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट पक्राउ गरेको हो।
प्रवक्ता गौतमले पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। घटनाको वास्तविक कारण पत्ता लगाउन, प्रमाण संकलन गर्न र कानुनी प्रक्रिया अगाडि बढाउनका लागि अनुसन्धान जारी रहेको उनले बताए।