सामाजिक सञ्जालमा अपमानजनक भिडिओ सार्वजनिक भएपछि बारामा १३ वर्षीया किशोरीद्वारा आत्महत्या

कलैया । बाराको कलैया उपमहानगरपालिका-२१ मा आफ्नो मानमर्दन हुने किसिमको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक १३ वर्षीया किशोरीले आत्महत्या गरेकी छिन्। कलैया-२१ की १३ वर्षीया सरिया खातुनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

गत १५ असारमा गाउँकै केही युवाहरूले बालिकालाई घेरेर अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा ती युवाहरूले भोजपुरी भाषामा कुराकानी गर्दै बालिकालाई दुर्व्यवहार गरिरहेको र सिङ्गै गाउँका अगाडि लगेर बेइज्जत गर्ने धम्की दिएको सुनिन्छ।

स्थानीय बाँसको झाडीमा ‘बतासा’ भनिने एक युवकसँग देखेपछि युवाहरूले ती बालिकालाई घेरेर अश्लील र अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।

भिडिओमा पीडित बालिकाले रुँदै आफूलाई छाडिदिन अनुनय गरिरहेको देखिन्छ भने सो क्रममा उनलाई थप्पड हान्ने र धकेल्ने समेत गरिएको प्रस्ट देखिन्छ। अपमान गर्ने नियतले खिचिएको सो भिडिओ स्थानीय युवाहरूले नै सामाजिक सञ्जालमा फैलाएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार १५ असारमा भिडिओ खिचेर सार्वजनिक गरिएको थियो भने त्यसको भोलिपल्टै बालिका आफ्नै घरमा मृत फेला परेकी थिइन्।

भिडिओ सार्वजनिक भएपछि सोही अपमान सहन नसकेर बालिकाले ज्यान फालेको परिवारको आरोप छ। घटनापछि पीडित परिवारले भिडिओमा देखिएका मध्ये सात जनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ र ‘बलात्कार उद्योग’को आरोपमा इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दिएको छ। जाहेरीका आधारमा प्रहरीले १७ असारमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी कुँवरले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन्। “घटनाक्रम हेर्दा भिडिओ सार्वजनिक भएको भोलिपल्ट नै आत्महत्या भएको देखिएको छ।

यद्यपि, विषय अहिले अनुसन्धानकै क्रममा रहेकाले आत्महत्याको यकिन कारणबारे विस्तृत छानबिनपछि मात्र आधिकारिक रूपमा भन्न सकिन्छ,” एसपी कुँवरले भने।

सम्बन्धित समाचार

सबै