रौतहटमा एक युवकद्वारा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरिया निवासी २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनाव तथा डिप्रेसनमा थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनालगत्तै परिवारका सदस्यहरूले उनलाई उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीमुनिको भाग र शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ।

अस्पतालबाट बुधबार बिहान करिब ४ बजे घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट सहायक निरीक्षक (असई) मनोज दासको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घाइते सहनीलाई बुधबार बिहान ४:१५ बजे थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।

सहनीले गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएको बताइएको छ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै