रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेला बनटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आफ्नै घरमा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजे मानबहादुर मोटर चलाएर नुहाउन खोज्दा अचानक करेन्ट लागेको थियो।
स्थानीय बासिन्दाले घटनाबारे जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल, चपुर पठाएको छ।
मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेका कारण उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चपुरले जानकारी दिएको छ।