वीरगञ्जमा आज साँझ ५ बजेदेखि निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा आज (साउन १४ गते) साँझदेखि लागू हुने गरी निषेधाज्ञा (निषेध आदेश) जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज साँझ ५:०० बजेदेखि भोलि (साउन १५ गते) बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

निषेधाज्ञा लागू हुने चार किल्ला:
पूर्व: प्रतिमा चौक, बसपार्क बाईपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गण्डक चौक
दक्षिण: शंकराचार्य गेट

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ। आदेशको उल्लंघन गर्ने वा बेवास्ता गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ।

सम्बन्धित समाचार

सबै