रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सन्तपुरमा एउटा विद्युतीय सवारी साधन दुर्घटनामा परेको छ।
गौर–चन्द्रपुर सडकखण्डमा चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना १ ज ७६५३ नम्बरको यात्रुविहीन ईभी गाडी बिहान करिब ०६ः४० बजे अनियन्त्रित भई बाटोको दाहिनेतर्फ पल्टिएको हो।
दुर्घटनामा परेको सवारीमा कुनै पनि यात्रु नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उक्त गाडी रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडबेला बस्ने २५ वर्षीय सरोज न्योपानेले चलाइरहेका थिए।
घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा ५ जना र प्रहरी चौकी सन्तपुरबाट प्रहरी सहायक निरीक्षक विष्णु यादवको कमाण्डमा २ जनाको संयुक्त सुरक्षा टोली घटनास्थलमा खटिएको थियो।
सुरक्षा टोलीले बिहान ०६ः५५ बजेको समयमा जेसीबीको सहायताले दुर्घटनाग्रस्त सवारी साधनलाई बाटोबाट निकालेर गन्तव्यतर्फ पठाएको छ ।
हाल उक्त सडकखण्डमा यातायात सुचारु रहेको प्रहरीले जनाएको छ।