मलङ्गवा । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा अत्यधिक ध्वनि प्रदूषण गर्ने डीजे नियन्त्रण गर्ने अभियानअन्तर्गत सर्लाही प्रहरीले डीजेसहितको एक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार मलङ्गवा नगरपालिका–९, गोरखकालीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा डीजे सञ्चालक हरिपुर नगरपालिका–२ का ५५ वर्षीय जागेश्वर पण्डित र डीजे जडान गरिएको गाडीका चालक बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह रहेका छन्।
प्रहरीले डीजेका विभिन्न साउन्ड सिस्टमहरू लोड गरिएको ना. १ च. ४२९१ नम्बरको योद्धा गाडी नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने र ध्वनि प्रदूषण बढाउने किसिमका डीजे प्रयोग नगर्न आम सर्वसाधारणमा आग्रह गरेको छ।
प्रहरीको यो निर्देशनलाई अटेर गरी तीव्र आवाजमा डीजे बजाएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।