सर्लाही । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ४, हेमपुरमा भर्याङबाट लडेर एक १८ महिने शिशुको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय धीरेन्द्र रायका छोरा १८ महिनाका गोपीचन राय रहेका छन्। परिवारका अनुसार बालक घरमा खेलिरहेको अवस्थामा अचानक भर्याङबाट लडेर घाइते भएका थिए।
घाइते बालकलाई तत्कालै उद्धार गरी मलंगवामा सामान्य उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृतक बालकको शवलाई पोस्टमार्टमका लागि वीरगन्जमै राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।