लालबन्दीमा करिब १३ किलो गाँजासहित तीन जना पक्राउ

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१२ जियाजोरबाट करिब १३ किलोग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका वडा नं. २ बस्ने ४८ वर्षीय सानु न्याउके दमाई, उनकी ३५ वर्षीया श्रीमती सविना परियार र लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने ५६ वर्षीया ज्ञान माया रहेका छन्।

शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा बोकेको जेब्रा झोलाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा तीनवटा पोकामा रहेको कुल १२.८२४ किलोग्राम गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सातदिनको म्याद थप अनुमति लिइएको छ।

उनीहरूमाथि इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै