लालबन्दी । काठमाडौँको माइतीघरमा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा बुधबार एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
प्रदर्शनमा सहभागी हुन सर्लाहीबाट आएका चन्द्रनगर गाउँपालिका–६ निवासी ४० वर्षीय नथुनी मुखियाले आत्मदाहको प्रयास गरेका हुन् ।
आफ्नो शरीरमा पेट्रोल छर्किसकेको संवेदनशील अवस्थामा प्रदर्शन स्थलमा खटिएका प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर उद्धार गरेको थियो ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार, उद्धार गरिएका मुखियालाई तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको छ । हाल उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लघुवित्त संस्थाहरूको ऋण र चर्को ब्याजदरका कारण समस्यामा परेका सर्वसाधारणहरू विगत केही समयदेखि आफ्ना माग सम्बोधन गराउन काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।