लालबन्दी । चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मधेश प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका प्रदेशका विभिन्न जिल्लाका नागरिकहरूको नामावली सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पर्सा जिल्ला स्थायी घर भएका तथा त्यहाँ अस्थायी रूपमा बसोबास गर्नेहरूमध्ये १५ जना सम्पर्कविहीन रहेका छन् ।
जसमा वीरगञ्ज–१४ का नग नारायण पटेल, कलैया–२२ का सुबोध पटेल र अरुण हजरा, वीरगञ्ज–१५ का श्यामबाबु ठाकुर तथा पृथ्वी चौधरी, वीरगञ्ज–१३ का कमरुल होदा अंसारी, वीरगञ्ज–४ का अनुतम बहादुर श्रेष्ठ, बरियारपुर–८ का सुभाष पटेल, परवानीपुर–४ का समिम देवान र निजगढका दिनेश परियार रहेका छन् ।
यसैगरी, पर्सामा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, बाराका ३ र रौतहटका २ जना नागरिक बाढीपछि सम्पर्कमा आएका छैनन् । बाराको परवानीपुर–५ का ३५ वर्षीय नम नारायण सिंह, कलैया–२२ का २३ वर्षीय सत्य प्रकाश राम र आदर्श कोतवाल–१ का २३ वर्षीय अंकित पटेल सम्पर्कविहीन छन् ।
रौतहटको वृन्दावन–२ का ३४ वर्षीय गौरव राउत र ईशनाथ–४ का १९ वर्षीय शेख मजिदको अवस्था पनि अज्ञात छ ।
सर्लाही र सप्तरीका नागरिकहरू पनि बेपत्ताको सूचीमा परेका छन् । सर्लाहीको लालबन्दी–९ का ५२ वर्षीय माधव काफ्ले र उनका २२ वर्षीय छोरा अनुज काफ्लेसहित लालबन्दी–५ का कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा तथा हरिवन–५ का सुनिल कुशवाहा बेपत्ता रहेका छन् ।
यस्तै, सप्तरीको विष्णुपुर–१ का अजय कुमार यादव र शम्भुनाथ–८ का साजन चौधरीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन ।
चार जनाको सकुशल उद्धार
यसअघि सम्पर्कविहीनको सूचीमा रहेका सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तानको भने सकुशल उद्धार भई सम्पर्कमा आइसकेका छन् ।
यसैगरी, बाढीपछि सम्पर्कविहीन भनिएका धनुषाका दुई जना नागरिक पनि गएराति नै सकुशल सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ ।
बाँकी रहेका नागरिकहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायहरूसँग तीव्र समन्वय गर्दै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रभावित परिवार तथा आफन्तजनलाई विचलित नहुन आग्रह गर्दै उनीहरूबारे कुनै पनि जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनमा तुरुन्त सम्पर्क गर्न अपिल गरेको छ ।