रसुवा नाकामा कार्यरत सर्लाहीका स्वास्थ्यकर्मी गोविन्द यादव बेपत्ता

सर्लाही । रसुवा नाकास्थित हेल्प डेस्कमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) गोविन्द यादव बाढीमा परी बेपत्ता भएका छन्। बुधबार बिहान रसुवामा आएको भीषण बाढीमा परी ३४ वर्षीय यादव बेपत्ता भएका हुन्।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्ही निवासी यादव विगत तीन वर्षदेखि रसुवा नाकामा सेवा दिँदै आएका थिए। कर्तव्य पालनाकै सिलसिलामा उनी बाढीको चपेटामा परेको बताइएको छ। यादव बेपत्ता भएपछि उनका आफन्तहरूले तत्काल खोजी गरिदिन स्थानीय प्रशासन र सुरक्षा निकायसँग अपिल गरेका छन्।

यस वर्ष जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने मधेश प्रदेशका श्रद्धालुहरूको संख्या उल्लेख्य रहेको छ। गोसाइँकुण्ड जाने क्रममा रसुवाको विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मधेश प्रदेशबाट मात्रै करिब ३० जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यसअघि सर्लाहीकै लालबन्दी नगरपालिकाबाट गोसाइँकुण्ड जान हिँडेका पाँच जना पनि अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रशासनले जनाएको छ।

बाढी र पहिरोले रसुवाको जनजीवन अस्तव्यस्त बनाएको छ भने बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोली परिचालन गरिएको छ।

सम्बन्धित समाचार

सबै