धनुषामा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु, एक जना गम्भीर घाइते

लालबन्दी । धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित एक क्रसर उद्योगमा टिपर पल्टिँदा उद्योग सञ्चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी क्रसर सञ्चालक ३८ वर्षीय हरी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार क्रसर उद्योगभित्रै ग्राभेल लोड गरिएको टिपर पल्टिँदा महतो सोही ग्राभेलमा पुरिएर गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सोही दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको परिचय र अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । टिपर कसरी र किन पल्टियो भन्नेबारे अनुसन्धानपछि मात्र थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै