धान खेतमा बिछ्याइएको विद्युतीय तारमा परेर तीन जनाको मृत्यु, तीन घाइते

रौतहट । रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया प्रखण्डमा धान खेतमा बिछ्याइएको खुला विद्युतीय तारमा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैरगनिया प्रखण्डअन्तर्गत अख्ता पश्चिमी चकवा पञ्चायत–५ स्थित तकिया टोलमा शनिबार बिहान उक्त दुःखद घटना भएको हो। करेन्ट लागेर अन्य तीन जना स्थानीयवासी गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार, खेतमा जंगली जनावरबाट बाली जोगाउने उद्देश्यले अवैध रूपमा खुला विद्युतीय तार बिछ्याइएको थियो। भैंसी खोज्ने क्रममा खेतमा पुगेका स्थानीय बासिन्दाहरूलाई तारमा विद्युत् प्रवाह भइरहेको जानकारी नहुँदा यो ठूलो दुर्घटना हुन पुगेको हो।

घटनास्थलमा विद्युतीय तारको सम्पर्कमा आएका दुई वटा जंगली बँदेलसमेत मृत अवस्थामा फेला परेका छन्। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित समाचार

सबै