कविलासी । सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।
दुर्घटनामा घाइते भएका युवकको साथबाट हतियार फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति करिब १ बजे जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको बिआर ३० वाई २८५३ नम्बरको भारतीय प्लेटको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कविलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका छन्। प्रहरीका अनुसार उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते ठाकुरको साथ खानतलासी गर्दा एक थान ‘सिक्सर’ पेस्तोल फेला पारेको थियो।
हाल घाइते ठाकुरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।