मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित प्रसिद्ध हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मन्दिर परिसरबाटै १६ र १३ वर्षका दुई किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार आइतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिरमा रहेको हनुमानजीको मूर्तिमा चढाइएका चाँदीका मुकुट, माला, टीका तथा अनुहारमा लगाइने विभिन्न चाँदीका गरगहना र दानपेटिकामा रहेको नगद रकम चोरी भएको खुलेको छ। चोरी भएका गहना तथा रकमको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
कानुनी प्रावधानअनुसार पक्राउ परेका दुवै नाबालकको पहिचान गोप्य राखिएको छ। उनीहरू यसअघि पनि चोरी घटनामै संलग्न भएर बाल सुधारगृहमा बसेर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैबीच, मन्दिरमा भएको चोरीको घटनालाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने खालका गतिविधि नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ।
घटनाको विषयमा भ्रामक अफवाह नफैलाउन र सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि कार्य नगर्न सचेत गराउँदै त्यस्ता गतिविधिमा संलग्न हुने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।