मलङ्गवा । मधेशको महान् पर्व छठ मनाउन काठमाडौँबाट घर फर्किँदै गरेका यात्रु चढेको विद्युतीय (इभी) हायस गाडी मकवानपुरमा दुर्घटना हुँदा एकै गाउँका १० जनाको ज्यान गएको छ। दुर्घटनापछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ।
काठमाडौँमा फलफूल तथा अन्य विभिन्न व्यापार-व्यवसाय गर्दै आएका सुन्दरपुरवासी छठ मनाउन मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हायस गाडी रिजर्भ गरेर राति नै सर्लाहीतर्फ हिँडेका थिए। तर, बिहानीपख काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढी नजिकै हायस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो जारी गरेको सूचनाअनुसार उक्त भयानक दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सुन्दरपुर गाउँकै ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्। अत्यन्त भिरालो र दुर्गम ठाउँमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको थियो। मृतकहरूको सनाखत तथा विस्तृत विवरण खुल्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर फैलिएसँगै सदरमुकाम मलङ्गवादेखि करिब ६ किलोमिटर पश्चिममा रहेको सुन्दरपुर गाउँ स्तब्ध बनेको छ। चाडपर्वको उल्लास हुनुपर्ने गाउँमा यतिबेला रुवाबासी र कोलाहल मच्चिएको छ।
उता दुर्घटनाको खबर पाएलगत्तै आफू घटनास्थलतर्फ प्रस्थान गरिसकेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले जानकारी दिएका छन्। घाइतेहरूको उपचार तथा मृतकहरूको शव व्यवस्थापनका लागि पहल भइरहेको जनाइएको छ।