मकवानपुर । भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ५ जना महिला तथा बालबालिका र ९ जना पुरुष रहेका छन्।
यसअघि ११ जनाको पहिचान खुलेकोमा थप तीन जनाको पहिचान खुलेसँगै मृतक सबैको सनाखत भएको हो। मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन्।
यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन्।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो।