ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकाले हरिबोधनी एकादशी (ठूली एकादशी) पर्वको अवसरमा भोलि (मंसिर ४ गते) शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको आज (बिहीबार) बसेको बैठकले वडा नम्बर ४ स्थित सागरनाथ मन्दिरमा पूजा–अर्चना तथा मेला उत्सव लाग्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको हो ।
नगर प्रमुख मनोज कुमार आचार्यद्वारा जारी सूचना अनुसार शुक्रबार नगरपालिका तथा सो अन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहनेछन् । यद्यपि, अति आवश्यक सेवाहरू भने सुचारु रहने सूचनामा उल्लेख गरिएको छ ।
यसैबीच, नगर प्रमुख आचार्यले हरिबोधनी एकादशीको पावन अवसरमा सम्पूर्ण नगरबासीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका छन् ।