सर्लाहीमा पोखरीमा डुबेर अढाई वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पोखरीमा डुबेर अढाई वर्षीय एक बालकको मृत्यु भएको छ । मावली घरमा बस्दै आएका चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका अवलैस शेखका छोरा गौसे आजमको सोमबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका–१ निमटोलस्थित मावली हजुरबुवा नुर महोमदको घरमा बस्दै आएका बालक सोमबार दिउँसो करिब २ बजे घर पछाडि रहेको स्थानीय फनु रायको पोखरीमा डुबेर छटपटाइरहेको अवस्थामा फेला परेका थिए । बालककी आमा फिरजाना खातुनले छोरालाई पोखरीमा डुबिरहेको देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय गुरु दयाल क्लिनिक पुर्‍याएकी थिइन् ।

तर, क्लिनिकमा चिकित्सकले जाँच गर्दा बालकको मृत्यु भइसकेको पुष्टि गरेका थिए । मृत्यु पुष्टि भएपछि बालकको शवलाई मावली घरमा ल्याएर राखिएको छ ।

घटनाबारे दिउँसो करिब ३ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मोहनपुरबाट प्रहरी सहायक निरीक्षक राकेश प्रसाद चन्द्रवंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको नेतृत्वमा मुचुल्कासहितको टोली पनि घटनास्थलमा खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पोखरीमा डुबेर बालकको मृत्यु भएको पुष्टि गर्दै प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

सम्बन्धित समाचार

सबै