काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वीरेन्द्र पुस्तकालय, काठमाडौँद्वारा आयोजित खुला कविता प्रतियोगिता–२०८३ मा सर्लाहीको लालबन्दीका कवि सुमन घिमिरे ‘अग्रिम’ प्रथम भएका छन्। घिमिरेको ‘माटोको बयान’ शीर्षकको कविताले प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा ईश्वर थापाको ‘गाउँको हालखबर’ शीर्षकको कविता द्वितीय र देवेन्द्र अधिकारीको ‘किन’ शीर्षकको कविता तृतीय भएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको पुस्तकालयका अध्यक्ष रुपेश केसीले जानकारी दिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेका घिमिरे सर्लाहीको लालबन्दी निवासी कवि हुन्। उनको ‘माटोको बयान’ कविताले समकालीन नेपाली समाज, राष्ट्रिय अस्तित्व र माटोसँगको मानवीय सम्बन्धलाई काव्यात्मक अभिव्यक्ति दिएको छ।
महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरण तथा नेपाली कविता सिर्जना र प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्राप्त नतिजाले समकालीन नेपाली कविता क्षेत्रमा नयाँ सिर्जनात्मक सम्भावनालाई समेत उजागर गरेको छ।