असई थमन विकको हत्या अभियोगमा पूर्वसांसद यादव जेल चलान

जलेश्वर : महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला आदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते विकको हत्या भएको थियो।

उक्त प्रकरणमा सङ्लग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका पूर्वसंविधानसभा सदस्य यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो।

यादवलाई आगजनी मुद्दामा पाँच हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।

यादव तत्कालीन मधेशी जनाधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो।

सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो।

सम्बन्धित समाचार

सबै