साउन नजिकिएसँगै टुटेश्वरनाथबारे चासो बढ्दो

महोत्तरी : साउने बोलबम मेला नजिकिएसँगै जिल्लाको प्राचीन शिवालय टुटेश्वरनाथबारे श्रद्धालुको चासो बढेको छ।

मधेशको कैलास र मुलुकको ‘बोलबम बाबा स्थान’ का रुपमा चिनिएको टुटेश्वरनाथबारे प्रदेश सरकार, बर्दिवास नगरपालिका, सामाजिक संघसंस्था, राजनीतिक दल, प्रशासनिक निकाय र नागरिक समाजले चासो बढाएका हुन्।

बर्दिवास नगर कार्यपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले आइतवार साँझ आयोजना गरेको अन्तरक्रियामा सम्बद्ध सबै सरोकार भएकाले टुटेश्वरनाथ महादेव मन्दिरको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

उक्त शिवालयको संरक्षण र संवर्द्धन गरी यसलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका हुन्।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापाले संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्द्धनका क्षेत्रमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्।

“यी सम्पदा हाम्रा पहिचान र समृद्धिका आधार हुन्, यिनको संरक्षण र संवर्द्धनमा सबै एकजुट हुन आवश्यक छ”, उनले भनिन्।

प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजिव पोखरेलले टुटेश्वरनाथसहितका प्राचीन धार्मिकस्थलको संरक्षण र विकासमा प्रदेश सरकारको चासो रहेको उल्लेख गरे।

“टुटेश्वरनाथ स्थानको संरक्षण गरी यसलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर काम अघि बढाउने निर्णय गरेको छ”, उनले भने।

सचिव पोखरेलका अनुसार उक्त प्रयोजनका लागि आगामी आव ०८१/८२ को बजेटमा ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। यहाँ कार्यान्वयन गरिने कामको सबै डिजाइन स्वीकृत गरी एकद्वार प्रणालीबाट गरिनुपर्ने उनले सुझाव दिए।

“डीपीआरले गरेको डिजाइनभित्र काम हुनुपर्छ। केन्द्र, प्रदेश र स्थानीय तहका साथै अन्य सहयोगी निकायबाट प्राप्त सहयोग एकद्वार प्रणालीबाट कार्यान्वयन गरिनुपर्छ”, पोखरेलले भने।

बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले टुटेश्वरधामलाई यस क्षेत्रका साथै मधेशकै धार्मिक पर्यटनको मुख्य गन्तव्यका रुपमा विकास गर्न योजना बनाएर काम गरिरहेको भन्दै यसमा नगरले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाए।

यो प्राचीन शिवालय द्वापरयुगमा अर्जुनले भगवान् शिवको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा रहेको संस्कृतिविद्ले उल्लेख गरेको प्राचीन संस्कृतिका अध्येता एवं जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताए।

कार्यक्रमका वक्ताले टुटेश्वरनाथको संरक्षण, संवर्द्धन र विकासका लागि यसलाई ट्रष्टमा लैजान नगर नेतृत्वलाई सुझाव दिएका छन्। साथै दीर्घकालीन उपलब्धि प्राप्तिका लागि प्रभावकारी योजना निर्माण गर्नुका साथै साउने मेलालाई व्यवस्थापन गर्न जरुरी रहेको सहभागीको भनाइ छ।

“यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सोसम्बन्धी दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथै वर्षेनि लाग्ने साउने मेलालाई समयसापेक्ष रुपमा परिमार्जन र व्यवस्थापन गर्नु आवश्यक छ”, नगरपालिकाकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हीरालाल गौतमले भने।

पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट ७ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिवास–५ मा यो शिवालय प्राचीन माण्डवीगङ्गा (अहिले मडहा भनिन्छ) नदीको पूर्वी किनारको पहाडी थुम्कोमा अवस्थित छ।

विसं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ शिवलिङ्ग, पत्थर कुँदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला परेका बर्दिवास–५ का वडाध्यक्ष कहारमान स्याङ्वाले बताए।

स्थानीय भक्तजनको सहयोगबाट यहाँ मन्दिर निर्माण भएको हो। शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका जानकारी उनले दिए।

माण्डवीगङ्गा, वरुणमती र स्वर्णमती नदीमाझ अवस्थित यो ठाउँ शिवजीको पुकारा गरिँदा मनोवाञ्छित फल पाइने श्रद्धालुहरुको विश्वास छ।

“१८ किमी दूरी पार गरी माण्डवीगङ्गा, वरुणमती र स्वर्णमतीको त्रिवेणीबाट ल्याइएको जल शिवलिङ्गमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ”, ७२ वर्षीय वासुदेव महतोले भने। यही विश्वासका साथ ३५ वर्षदेखि यहाँ आएर पूजा गर्ने गरेको उनले बताए।

उक्त त्रिवेणीको वर्णन मिथिला माहात्म्यमा उल्लेख गरिएको जनाउँदै महतोले पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा ठेकेदारले बिगारेर मडहा, बेलगाछी र सोनी बनाएका गुनासो गरे।

यी तीनवटै नदीको शिवालयसँग अन्योन्याश्रित सम्बन्ध रहेकाले बर्दिवास नगर नेतृत्वले संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा उनले जोड दिए।

टुटेश्वरधाममा लाग्ने साउने मेला दर्शनका लागि मधेशका साथै मुलुकका अन्य जिल्ला र भारतका विभिन्न भेगबाट वर्षनि लाखौँ श्रद्धालु यहाँ आउने गरेका छन्।

धार्मिक महत्व रहेको यस ठाउँमा पूर्वाधार निर्माण, खानेपानी, शौचालय, सुरक्षा र सवारी पार्किङको व्यवस्था नहुँदा भक्तजनलाई सास्ती हुने गरेको स्थानीय महतोले बताए।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नकुल पोखरेलसहितले यस वर्षको साउने मेलामा सुरक्षा र ट्राफिक व्यवस्थापनको प्रभावकारी व्यवस्था गरिने प्रतिबद्धता जनाए। रासस

सम्बन्धित समाचार

सबै