जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–९, परकौलीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ आएको हावाहुरीका क्रममा सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको थियो। उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२० निवासी करिब ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ निवासी ३३ वर्षीय छोरा राहुल मलिक रहेका छन्। दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
दुर्घटनामा घाइतेहरुको उपचार जलेश्वर र जनकपुर स्थित अस्पतालहरुमा भई रहेको छ। घाइतेमध्ये टेम्पो चालक जलेश्वर नगरपालिका–११ निवासी ५२ वर्षीय हरेन्द्र ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ, उनको अवस्था गम्भीर रहेको जनाइएको छ। त्यस्तै, एकडारा गाउँपालिका–३ निवासी ४३ वर्षीया फेकनी देवी मलिक (तपेश्वर मलिककी श्रीमती) लाई प्रादेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर रिफर गरिएको छ, उनको अवस्था पनि गम्भीर छ।
यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ निवासी १७ वर्षीय धिरज मलिकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ, उनको अवस्था मध्यम रहेको छ। धनुषाकै जनकपुर उपमहानगरपालिका–२० निवासी १४ वर्षीया रिया पण्डित (सकुन्तला देवीकी छोरी) को पनि सोही अस्पतालमा उपचार भइरहेको छ, उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो। नेपाली सेना र प्रहरीले सडकमा खसेको रुख हटाएपछि यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए।