रौतहट : रौतहटको इशनाथ नगरपालिका-९ लवतनाका १८ वर्षीय सहबाज मियाँ आलमको हत्या आँप टिपेको निहुँमा भएको खुलेको छ।
उक्त हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भई हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन्।
उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने मियाँको हत्या गरेका प्रहरीले जनाएको छ।
इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ।
मृतकको भाइले बगैचाबाट आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए। त्यही रिसइबीमा दशही र रोशन मिलेर छुरा हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।