सिरहा : सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो ।
परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ ।
‘सुत्केरीका माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ,’ इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले भने ।
के भएको थियो घटना ?
राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा. तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाई उक्त अस्पतालमा आएकी थिइन् ।
‘बच्चा उल्टो अवस्थामा रहेकाले आमा र बच्चाको अवस्था गम्भीर भएकाले सिरहा अस्पतालले पठाएको र सबै रिपोर्ट हेरेपछि आमालाई भए पनि बचाउन सकिन्छ भनेर हामीले बिरामीका परिवारलाई जानकारी गरायौँ,’ अस्पतालका सञ्चालक यादवले भने।
आमालाई भए पनि बचाउनुस् भन्ने परिवारको सल्लाहबमोजिम सबै प्रक्रिया पूरा गरी आमाको शल्यक्रियामार्फत बच्चा सकुशल निकाल्न सफल भएको सञ्चालक यादवले बताए। तर, कम तौलको जीवित बच्चा जन्मिए पनि बच्चा रुने कराउने केही थिएन । भेन्टिलेसनमा राखेर बच्चाको उपचार गराए बचाउन सकिने सल्लाहअनुसार उनीहरूले बच्चालाई एम्बुलेन्समा राखेर अन्यन्त्र अस्पताल लगे ।
बर्धमान अस्पतालमा सघन उपचार कक्ष खाली नभएपछि लहानको सप्तऋषि अस्पतालमा बच्चालाई लिएर गएको राधादेवीकी सासू जलेश्वरी दासले जानकारी दिइन् ।
बच्चा अस्पतालमा पुग्दा लहानका अस्पतालले मृत घोषणा गरिदिएपछि उतैबाट आफैँले स्थानीय गागनखोलामा बच्चाको अन्तिम संस्कार गरेको उनले बताइन् ।
यसबारे राधादेवीको माइतीका दाइ राहुल पटेलले अनावश्यक बखेडा झिकेर घटनालाई गिजोलेको स्वयं राधादेवीको सासूको भनाइ छ । उनले भनिन्, ‘उहाँ डाक्टरहरूले आमाको भए पनि ज्यान बचाउनुभयो । अस्पतालाई दोष दिने ठाउँ कतै छैन । चार दिनदेखि आमाको उपचार यही अस्पतालमा गराइरहेका छौँ ।’ बच्चा बचाउन नसकेकामा उनले दुःख व्यक्त गरिन् ।
अस्पताल प्रशासनका अनुसार केटा र केटीबीच अन्तरजातीय विवाहका कारण घरायसी द्वन्द्व सुरु भएको थियो। यसकारण अस्पतालाई कुनै किसिमको आक्षेप नलगाउन अस्पताल प्रशासनले आग्रह गरेको छ । सुत्केरी राधादेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् ।
रासस