लालबन्दीमा झगडा मिलाउन जाँदा ढुंगा प्रहारबाट घाइते वृद्धाको उपचारका क्रममा मृत्यु

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका-१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुंगा लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

ढुंगाले लागेर घाइते भएका स्थानीय ६५ वर्षीया विष्णुमाया बोम्जनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो।

गत मंसिर २७ गते राति घरनजिकै भएको झै-झगडामा संलग्न व्यक्तिलाई छुट्याउन जाँदा ईश्वरपुर नगरपालिका-१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुंगाले लागेर टाउकोमा गहिरो चोट लागेको थियो। सोही दिन लालबन्दी–१५ को तल्लो देउरालीमा विवाहको भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबीच विवाद भएपछि वृद्धा विष्णुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुग्दा घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार विवाह भोजबाट फर्किएका वीरबहादुर मदिरा सेवनबाट मात्तिएका थिए । ढुंगा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन्।

ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइने ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।

 

सम्बन्धित समाचार

सबै