झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गयो

62

कैलाली : धामीझाँक्रीको उपचारमा भर पर्दा कैलाली एक गर्भवतीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको मृत्यु भएको हो।

घरनजिकै अस्पताल भएपनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।

त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनलाई अस्पताल पुर्‍याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन्। कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन।

उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए। उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो।

कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ।