ईश्वरपुर : सर्लाहीमा जंगली हात्तीको समूहले एक विपन्न परिवारको कच्ची घर भत्काइदिएको छ।
ईश्वरपुर-१३, ढापटोलकी ८६ वर्षीया धनमाया तामाङको घर भत्काएर हात्तीहरूले भित्र रहेको धान,चामल लगायतका खाद्यान्न खाएका छन्।
आज बिहान ३ बजेतिर आएको हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस बनाइदिएको छ। भाग्न नसक्ने वृद्धालाई नातिनीले बोकेर सुरक्षित स्थानमा पुर्याएकाले मानवीय क्षति भने हुन पाएन।
स्थानीयका अनुसार महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्ती सागरनाथ वन विकास परियोजनाको जंगल हुँदै सर्लाही प्रवेश गरेका हुन्। हरेक वर्ष यस याममा हात्तीहरू गाउँ पस्ने भएकाले स्थानीयवासी त्रसित भएका छन्।