सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोरमा बाँदरको टोकाइबाट एक चार वर्षीय बालक घाइते भएका छन्। स्थानीय प्रमोद रामका चार वर्षीय छोरा अनिश राम आफ्नै घरमा सुतिरहेको अवस्थामा बाँदरको आक्रमणमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार बालक आफ्नै घरमा सुतिरहेको बेला अचानक भित्र पसेको बाँदरले उनको अनुहारमा टोकेको थियो। बाँदरको टोकाइबाट बालकको अनुहारमा चोट लागेको छ।
घाइते बालकलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि उनलाई हेटौँडा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हाल बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनाका सम्बन्धमा बालककी आमाले शुक्रबार साँझ करिब ५:२० बजे इलाका प्रहरी चौकी फुलजोरमा टेलिफोनमार्फत जानकारी गराएकी थिइन्। जानकारी प्राप्त भएलगत्तै प्रहरीले घटनाको अभिलेख राखी आवश्यक विवरण संकलन गरेको जनाएको छ।