वीरगञ्ज : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् ।
आज एक विज्ञप्ति जारी गरी उनले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको कर्तव्य भएको उल्लेख गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको उल्लेख गरेका हुन् ।
मन्त्री गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद् र चिन्ताजनक हो, नागरिकहरूले एकअर्काका धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सहअस्तित्वको आधार हो ।”
झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ताले निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्कमा गरिरहेको उल्लेख गरे । उनले घटनाका दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिए ।
मन्त्री गुप्ताले हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपबाट सृजना भएको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर चासो देखाएका हुन् ।