लालबन्दी : लालबन्दीमा टिपरको ठक्करबाट घाइते भएका युवकको उपचार क्रममा मृत्यु भएको छ।
नगरपालिकाको जब्दीस्थित भित्री सडकखण्ड मेजरगन्जमा हिजो राति जब्दीबाट आउँदै गरेको ना. २ ख ५०१ नम्बरको टिपर ठक्कर दिँदा साइकलमा सवार कबिलासी नगरपालिका–८, अगर्वा घर भइ चार पाँच वर्षदेखि लालबन्दी–५, मेजरगन्जमा पनि घर बनाएर बस्दै आएका दिनेश साहका छोरा २० वर्षीय सचिन साह घाइते भएका थिए।
घाइतेको उनको प्रादेशिक अस्पताल मलंगवामा राती ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिमा रहेको टिपरले सचिनलाई निकै परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए।
सचिनलाई लालबन्दी बजारबाट पसलका लागि सरसामग्री किनेर साइकल चढेर घर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। उनी लालबन्दीको जनज्योति माविको कक्षा १० मा अध्ययन्रत थिए।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । टिप्पर चालक भने फरार छन्। स्थानीयले आगजनी गरेर क्षति पुगेको टिप्पर मध्य रातिमा लालबन्दी प्रहरीले लगेको छ ।
उक्त दुर्घटनापछि लालबन्दीमा केहीबेर तनावग्रस्त अवस्था बनेको थियो।