लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकामा तरकारी फलफूल थोक बजार ठप्प हुने भएको छ।
ताजा तरकारी फलफूल थोक बजार व्यवसायी संघ, लालबन्दीले नगरपालिकाले लगाउँदै आएको निकासी करप्रति असन्तुष्टि जनाउँदै असार १९ गते (बिहिबार) देखि सबैखाले तरकारी तथा फलफूलको खरिद–बिक्री बन्द गर्ने घोषणा गरेको हो।
संघले एक पत्रमार्फत जानकारी दिँदै लालबन्दी नगरपालिकाको कार्यालयसँगको छलफलमा सहमति नजुटेपछि करको दरमा आपत्ति जनाउँदै व्यापार ठप्प पारिएको उल्लेख गरेको छ।
संघको असार १७ गते बसेको बैठकमा नगरपालिकाबाट सञ्चालित कृषि थोक बजार व्यवस्थापन समितिको विघटन माग गर्दै, अहिलेकै दरमा निकासी कर तिर्न अस्वीकार गर्दै आएको थियो।
संघका अध्यक्ष दरेश चौधरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ -असार १९ गते बिहिबारदेखि अनिश्चितकालसम्म कृषि उपज, ताजा तरकारी तथा फलफूल खरिद बिक्री नगर्न सम्पूर्ण व्यापारीहरूलाई अनुरोध गरिएको छ।”
यो परिस्थिति उत्पन्न हुनुमा प्रमुख कारण स्थानीय तहले एकतर्फी रूपमा थोक बजारमा लगाउँदै आएको कर प्रणाली हो। जसलाई व्यवसायीहरूले मान्यता नदिने बताउँदै आएका छन्।
व्यवसायीहरूका अनुसार बजार व्यवस्थापन समितिमा स्थानीय व्यापारीको प्रतिनिधित्व नभएको, करको दर अव्यवहारिक भएको तथा निर्णय प्रक्रियामा पारदर्शिता नरहेको गुनासो छ।
बजार बन्दका कारण लालबन्दी नगर र वरपरका क्षेत्रहरूका कृषकहरू मारमा पर्न सक्नेछन्।
