हरिवनका युवाको मलेसियामा बसको ठक्करबाट मृत्यु

1129

सर्लाही : सर्लाहीका एक युवाको रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

जिल्लाको हरिवन नगरपालिका-१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत कम्पनी परिसरमा बसको ठक्करबाट मृत्यु भएको हो।

मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरे लगत्तै मलेसिया गएका श्रेष्ठ त्यसयता नेपाल फर्किएका थिएनन्। उनीहरुका बालबच्चा पनि भएका छैनन्।

‘राम्रो कमाइ हुने सजिलो काम छ भन्दै विवाह गर्नासाथ छोरा मलेसिया गएको थियो। पाँच वर्षदेखि भिसा थप गरेर उतै बसिरहेको थियो,’ बुवाको भनाई उधृत गर्दै हरिवन नगरपालिकाका कर्मचारी तारानाथ पोखरेलले भने, ‘मलेसियामा भएको सवारी दुर्घटनामा उहाँको मृत्यु भएको खबरले परिवारका सदस्य मात्रै होइन, यतिबेला छरछिमेकी पनि शोकमा छन्।’

श्रेष्ठको शव चाँडै नेपाल ल्याउनको लागि पहल गरिदिन परिवारका सदस्यले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्।